म्याग्दीको दरखोलामा आएको बाढीले गएराती धवलागिरी गाउँपालिका–२ लुलाङमा रहेको लघुजलबिद्युत परियोजनाको पावरहाउस (बिद्युतगृह) बगाएको छ |
४२ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलबिद्युत परियोजनाको नहर, बाँध र बिद्युतगृह बाढीले बगाएको हो |
लुलाङ आधारभूत बिद्यालयका शिक्षक निकेश खड्काले दरखोलामा आएको बाढीले लघुजलबिद्युत परियोजनाको संरचना बगाएको जानकारी दिए |
दरखोलाको बाढीले कटान गरेर लघुजलबिद्युत परियोजना बगाएको हो,’ उनले भने, ‘पावर हाउस भएको ठाउँमा खोला बगेको छ । उनका अनुसार खबाङको दोभानमा रहेको बाँध, ७२५ मिटर लामो पाइपलाइन, मरेनीको फेदी र दरखोलाको किनारमा रहेको विद्युतगृहमा बाढीले क्षति गरेको छ |
परियोजना बगाएपछि लुलाङ, खोरीया, मेरनी र लमसुङका ३६५ घरधुरीमा बिद्युत आपुर्ति बन्द भएको छ । घरायसी काम, विद्यार्थीको पठनपाठन र विद्युतबाट चल्ने उपकरणमा आधारीत साना उद्योग ठप्प भएका छन |
उज्यालोका लागि टुकी र सोलारमा भर पर्नुपर्ने अवस्था आएको वडा अध्यक्ष गमप्रसाद बिकले बताए । सो लघुजलबिद्युत परियोजना बि.स. २०७६ कात्तिकमा एक करोड ५२ लाख रुपैयाँको लागतमा परियोजना निर्माण भएको थियो |
यसअघि बि.स. २०७२ साउनमा जुगेपानीमा आएको पहिरोले विद्युतगृह र नहर बगाएपछि मरेनीको फेदीमा परियोजना स्थानान्तरण गरिएको थियो |
परियोजना निर्माणका लागि बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले ८५ लाख रुपैयाँ र धवलागिरी गाउँपालिकाले पचास लाख रुपैयाँ लगानी गरेका थिए |
प्रतिघर उपभोक्ताले दश दिनका दरले बीस लाख रुपैयाँ बराबरको श्रमदान गरेर परियोजना सम्पन्न गरेका थिए । लुलाङ म्याग्दी जिल्लामा सबैभन्दा धेरै दलित समुदायको बसोबास भएको वडा हो |
धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बाढीले पुर्याएको क्षतिको बिबरण संकलन र थप जोखिम अध्ययनका लागि जनप्रतिनिधी र उपभोक्ता समितिको टोली घटनास्थलतर्फ गएको बताए |