दसैँ नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्यांग्रा ल्याउने तयारी थालेको छ । कोरोना भाइरस महामारीले बजार प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीले जनाएको छ ।
महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन गरेसँगै विभिन्न क्षेत्रका उद्योग, व्यवसाय प्रभावित भएका छन् । तर, पछिल्लो समयमा सरकारले निषेधाज्ञा हटाएको छ । तर, बजार भने पूर्ववत रूपमा फर्कन अझै समय लाग्ने व्यवसायीहरूको भनाइ छ ।
कम्पनीले भने दशैं जस्तो चाडमा खसी, बोका र च्यांग्राको मासु कम नहोस् भन्न खरिदको प्रक्रिया अगाडि बढाउने जनाएको छ । कम्पनीका अनुसार खसीबोका १५ सय र च्यांग्रा १५ सय ल्याउने कम्पनीका विभागीय प्रमुख भीम थापाले बताए ।
गत वर्ष दशैंमा १५ सय नौवटा च्यांग्रा र खसी ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीले उपभोक्ताको मागअनुसार खसी–बोका तथा च्यांग्रा खरिद गर्ने जानकारी दिएको छ ।
दशैं नजिकिइसक्दा पनि मूल्य निर्धारणमा भने अलमल भइरहेको छ । विभागीय प्रमुख थापा भन्छन्, ‘ उपभोक्तालाई मार नपर्ने गरी मूल्य निर्धारण गरिन्छ, बजारको भन्दा सस्तोमा नै दिन्छौँ,’ उनले थप्दै भने, ‘अहिले कारोना महामारीले सबै किसान प्रभावित भएका छन् ।
त्यसैले, किसानको लागतअनुसार मूल्य निर्धारण गर्छौँ ।’ उनले अहिले बजारमा डिजेलको भाउ पनि बढ्दै गएकाले ढुवानी खर्च पनि बढ्ने भन्दै सो कुरालाई ध्यानमा राखेर मूल्य तोकिने बताए ।
गत वर्ष खसी-बोका प्रतिकेजी पाँच सय ५० रुपैयाँ तोकिएको पनि उनले बताए । उपत्यकामा खसी-बोका तथा च्यांग्रा मुस्ताङ, मकवानपुर र दाङका किसानबाट खरिद गरिने जानकारी दिए ।
यसले गर्दा कम आयस्रोत भएका व्यक्तिले पनि उपभोग गर्नसकिने उनको दाबी छ । साथै, खसी–बोका तथा च्यांग्राको उपभोगबाट वञ्चित नहुने उनले बताए ।