Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङका विद्यालय कतै खुले, कतै खोल्ने तयारी

बागलुङका विद्यालय कतै खुले, कतै खोल्ने तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७८ शुक्रवार • १४:३०:१८ बजे
  • 874
    SHARES
  • बागलुङका विद्यालय कतै खुले, कतै खोल्ने तयारी

    रासस / ताराखोला गाउँपालिकाका विद्यालय दुई साताअघि नै खुलेकामा यहाँका अन्य स्थानीय तहका विद्यालयले पनि भौतिक उपस्थितिमै पठनपाठन सुरु गरेका छन् ।

    images

    केही ठाउँका विद्यालय खुल्ने तयारीमा छन् । यसअघि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सरकारले तोकेको ‘स्मार्ट लकडाउन’को प्रावधान अपनाएर केन्द्रसँगको समन्वयमा स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्णय गरेको थियो ।

    जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद आचार्यले गत सोमबारदेखि विद्यालय सञ्चालनमा आएको बताए । नगरप्रमुख तथा कोभिड–१९ प्रतिकार्य समूहका अध्यक्ष इन्द्रराज पौडेलको अध्यक्षतामा बसेको बैठकले समेत भौतिकरुपमा विद्यालय खोल्ने निर्णय गरेको थियो ।

    जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय खोलिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाइ छ । दैनिक बढीमा पाँच घण्टा मात्र कक्षा चलाउने, एउटा कक्षामा २५ र बेञ्चमा २ जना मात्र विद्यार्थी राख्ने मापदण्ड तोकिएको छ ।

    विद्यालय परिसरमा साबुनपानीले हातधुने व्यवस्था, मास्क र स्यानिटाइजरको उपलब्ध गराउने, पढाइ सुरु हुनुपूर्व दैनिक १५ मिनेट विद्यार्थीलाई कोभिड–१९ महामारीका बारेमा सचेतना र रोकथामका उपायबारे जानकारी गराउने निर्णय नगरपालिकाले गरेको छ ।

    कोरोना महामारीको जोखिम बढेपछि चालु शैक्षिक सत्रको सुरुदेखि नै प्रत्यक्ष शिक्षण सिकाइ क्रियाकलाप रोकिएको थियो । कतिपय विद्यालयले वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरा दिएपनि सबैतिर त्यो सम्भव हुन सकेको थिएन । विद्यालय तहका सबै बालबालिकासम्म इन्टरनेटको पहुँच छैन ।

    ताराखोलाका विद्यालयले कक्षागतरुपमा बार छुट्टाएर बालबालिकालाई पढाउन थालेका छन् । बालबालिकाको पढाइ बिग्रने र शैक्षिक सत्र नै प्रभावित हुने देखिएपछि त्यहाँका विद्यालय सबैभन्दा पहिले खुलेका थिए ।

    कक्षाकोठाभित्र भौतिक दूरी कायम गर्ने, अनिवार्य मास्क लगाउने कुरामा विद्यार्थीलाई कडाइ गरिएको ताराखोला–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताए ।

    सदरमुकाम रहेको बागलुङ नगरपालिकाका विद्यालय पनि आउँदो सोमबारदेखि खुल्ने भएका छन् । सामुदायिक र संस्थागत विद्यालयका प्रतिनिधिसँगको छलफलपछि दैनिक चार घन्टा मात्र विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार विद्यालयमा प्रार्थना र खाजाको समय भने कटाइएको छ ।

    एउटा कक्षामा २० जना र बेञ्चमा दुई जना मात्र विद्यार्थी राखेर पढाउनुपर्ने शिक्षा शाखा प्रमुख पोखरेलले बताए । विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयले भने आलोपालो गरी पठनपाठन सुरु गर्ने भएका छन् ।

    तमानखोला गाउँपालिकाका विद्यालयमा एउटा कक्षामा ५० विद्यार्थी राखेर पठनपाठन गराइएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले बताए । “पचासभन्दा बढी विद्यार्थी भएमा आलापालो गरेर पढाउने प्रबन्ध मिलाएका छौँ”, उनले भने ।

    गलकोट नगरपालिका, काठेखोला गाउँपालिकालगायत अन्य स्थानीय तहमा पनि विद्यालय सञ्चालनमा आएका छन् । कोरोना महामारीको जोखिम न्यून भएसँगै विद्यालय खोल्ने निर्णयमा स्थानीय तह पुगेका हुन् ।

    यद्यपि, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय खोल्ने निर्णय नगर्न सुझाएको थियो । कोरोनाको पहिलो लहर थामिएपछि केही समय खुलेका विद्यालय पुनः दोस्रो लहर भित्रिएसँगै गत वैशाखदेखि बन्द थिए । केही सातायता यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ ।

    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल कोरोनाका सक्रिय सङ्क्रमित ७९ जना छन् । तीमध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ३९ जना रहेका छन् । यहाँका पाँच स्थानीय तह सङ्क्रमणमुक्त बनिसकेका छन् ।

  • सम्बन्धित विषय:

  • # विद्यालय कतै खुले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology