सुर्खेतको सिम्तामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–४ स्थित बजेडी चौरमा बुधबार बिहान साढे १० बजे ना ७ ख ६०६३ नम्बरको बस दुर्घटनामा परेको हो ।
बसमा २४ जना यात्रु सवार रहेकोमा १२ जना घाइते भएको र अन्य १२ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए ।
उनका अनुसार ४ जना गम्भीर घाइते भएका छन् । केही घाइतेहरुलाई उपाचारको लागि नेपालजगञ्ज पठाइएको छ भने केहीको महेलकुना अस्पतालमा उपचार भइरहेको छ ।
सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बे्रक फेल भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब १५ मिटर तल खसेको थियो ।
"सर्पले टोकेर दिदीभाइको मृत्यु"
सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनीता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा राति सुतेको ठाउँमा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल लगिएको थियो ।
सुनीताको उपचारका क्रममा त्यहीँ मृत्यु भएको र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल लगेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।