काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ ।
जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।
विमानस्थल स्रोतका अनुसार जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको हो । जहाजमा कुनै क्षति भएको छैन । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ ।
जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएको प्रत्यक्षदर्शीले बताएका छन् ।
काठमाडौंबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ ।
करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेका जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ ।
अर्को जहाजमा यात्रुलाई पठाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
श्री एयरको ९ एन-एएनएफ जहाज ट्याक्सी हुनुअघि सो समस्या आएको विमानस्थल स्रोतले जनाएको छ ।