कपिलबस्तु । कपिलवस्तुमा झाडा पखालाको कारणले दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको कृष्णनगर नगरपालिका वडा नं .९ बहादुरगन्जका दुई जनाको मृत्यु भएको हो । नगरपालिकाको वडा नं। ५, ७, ८ र ९ वडामा सोमबार रातिदेखि प्रकोप फैलिएको छ । मृत्यु हुनेमा ५ वर्षीय राज कश्यप र ४० वर्षीय रामप्रसाद केवट रहेको स्थानीय मनीष गुप्ताले बताउनुभयो ।
वडाभर प्रकोप फैलिएपछि शिवराज अस्पताल, निजी क्लिनिक र स्वास्थ्य चौकीमा विरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । शिवराज अस्पतालमा ४० जना बिरामीले उपचार गराएका छन् ।
यता समुदायमा रहेका बिरामीको सङ्ख्या एकिन हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो ।
नगरपालिका वडा नं। ९ का अध्यक्ष राममिलन कुर्मीले समुदायमा प्रभावित हुनेको पहिचान गरी उपचारको तयारी सुरु भएको बताउनुभयो ।
प्रकोप रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालयले दुईजना चिकित्सक र प्रदेशबाट उपचार टोली आउँदै गरेको बताइएको छ ।