पोखरा । साढे ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका प्रहरीले सफाइ पाएका छन् । मंगलबार जिल्ला अदालत मोरङले सुनकाण्डमा मुछिएका सबै प्रहरीलाई सफाइ दिएको हो ।
सफाइ पाउने प्रहरी अधिकारीमा तत्कालीन अपराध महाशाखा प्रमुख पूर्वएआईजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी (हाल डीआईजी), श्यामबहादुर खत्री र प्रहरी उपरीक्षक विकासराज खनाल त्यसैगरी प्रहरी नायब उपरीक्षक (डीएसपी) सञ्जय राउत, प्रजित केसी, प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार अमरबहादुर थापा मगर र प्रहरी जवान विष्णु खड्का रहेका छन् ।
अदालतले ७७ जना प्रतिवादी मध्ये पक्राउ परेका ८ जनालाई मात्रै दोषी ठहर गरेको छ । अदालतका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाका अनुसार यस काण्डमा फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ ।
साढे ३३ किलोसहितको ३८ सय किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ ।
जिल्ला अदालत मोरङले आज सुन तस्करी तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो । अदालतका श्रेस्तेदार टिकेन्द्रविरजंग राणाले जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको जानकारी दिए ।
उनका अनुसार जन्म कैदको सजाय तोकिनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । यस्तै राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको उनको भनाई छ ।
फैसलामा सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा पनि सजाय गरिएको उल्लेख छ ।