Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

महिनौंको कमाई बाटोमै लुटियो

महिनौंको कमाई बाटोमै लुटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २०, २०७८ बुधवार • ११:११:१६ बजे
  • 760
    SHARES
  • महिनौंको कमाई बाटोमै लुटियो

    धनगढी उपमहानगरपालिका–१३ का दीपक जोशीलगायत १९ जना भारतको हिमाञ्चलबाट घर फर्किन त्यहाँको बस पार्कमा पुगे । स्वदेश फर्कन उनीहरूले निजी सवारी खोजे पनि नपाएपछि सार्वजनिक बसमार्फत आउने निधो गरे ।

    images

    बस कुर्दाकुर्दै बसपार्कमै रात पर्‍यो । उनीहरूलाई हिमाञ्चलबाट कंचनपुरको त्रिनगर नाका हुँदै धनगढी आउनुपर्ने थियो । गौरीफण्टा नाका आउने बस राति ९ बजे मात्र संचालन हुने रहेछ । ९ बजे बस जाने भन्ने थाहा पाएपछि १९ जनामध्ये केही बसपार्कको यताउति छरिए ।

    कोही भोक लागेपछि खाजाको खोजीमा त कोही शौच गर्न भन्दै समूहबाट अलग भए । समूहबाट अलग भएका तीन जना त्यहीँ लुटिए । खाजा खाने भन्दै समूहबाट अलग भएका तीन जनालाई त्यहाँका लुटेराले चक्कु देखाएर लुटपाट गरेको दीपक जोशी बताउँछन् ।

    ‘खाजा खाने भन्दै हामीबाट छुट्टएिका उनीहरू निराश भएर फर्किए’, जोशीले भने, ‘निराश हुनको कारण खोज्दा लुटियौँ भन्ने प्रतिक्रिया दिए ।

    तत्काल त्यहाँको प्रहरीलाई जानकारी गराए पनि कुनै प्रतिक्रिया आएन ।’ लुटेराहरूले चक्कु देखाएर उनीहरूसँग भएको करिव एक लाख ३० हजार रुपैयाँ लगेको उनले बताए ।

    चक्कु देखाएर लुट्नेहरूले कसैलाई भने मार्ने धम्कीसमेत दिएको उनको भनाइ छ । दशैँमा पैसा बोकेर आउने नेपालीलाई भारतका बस स्टेसन तथा अन्य सार्वजनिक स्थलमा लुटेराहरूले निशाना बनाउने गरेको भारतबाट आउने नेपालीले बताएका छन् ।

    आफूहरूको समूहमा १९ जना रहेकामा तीन जना एक्लै भएको मौका छोपी लुटेराले खुकुरी देखाँउँदै रकम लुटेर लगेको जोशीले बताए । उनका अनुसार भारतकै हिमाञ्चल प्रदेशबाट आएका अन्य दुई जना बसभित्रै लुटिएका छन् ।

    बसमा यात्रा गरिरहेका बेला खल्ती काटेर दुई जनाको ६२ हजार भारु चोरेको उनले बताए । ‘हामीसँगै हिमाञ्चलबाट आएका दुई जनालाई बसभित्रै खल्ती काटेर चोरले लुटे’, उनले भने, ‘दशैँका लागि खर्च जुटाएर आएका उनीहरू रित्तो हात फर्किन बाध्य भए ।’

    पछिल्लो समय भारतबाट नेपाल फर्कने अधिकांश नेपाली बाटैमा लुटिने गरेका धनगढी( ३ का कपिल बोहराले बताए । बिहीबार मात्र भारतको दिल्लीबाट नेलाल आएका उनले अफूसँगै एउटै बसमा आएका एक जनामाथि पलियामा लुटपाट भएको बताए ।

    ‘पलियामा बिहान ४ बजे बस पुगेको थियो’, उनले भने, ‘बस रोकिएका बेला शौच गर्न गएका बझाङका रतन सार्की त्यहीँ लुटिए ।’ सार्कीबाट आठ हजार भारु लुटिएको उनले बताए ।

    ‘अरू पैसा बसमै रहेको झोलामा रहेछ’, उनले भने, ‘शौचालयमै पुगेर ज्यान मार्ने धम्की दिँदै लुटेराले खल्तीमा भएको आठ हजार लगेछन् ।’

    दशैँमा नेपालीले पैसा बोकेर आउँछन् भन्ने थाहा पाएकाहरूले नेपालीलाई निशाना बनाउने गरेको उनले बताए । ‘दशैँमा घर आउने नेपालीलाई ठाउँठाउँमा निशाना बनाइएको हुन्छ’, उनले भने, ‘बसभित्रै पनि धेरैलाई लुटिन्छ, केही नेपाली आफ्नै लापरवाहीका कारण पनि लुटपाटमा पर्ने गरेका छन् ।’

    धेरै नेपालीहरू भारतबाट आउँदा सावधानी नै नअपनाई आउने गरेका उनको भनाइ छ । एक्लै हिँड्ने, बाटोमै मदिरा सेवन गर्ने गरेका कारण धेरै नेपाली लुटिने गरेको उनले बताए ।

    त्रिनगर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रमेश शाहीका अनुसार भारतमा लुटपाट भयो भन्दै धेरै नेपालीले गुनासो गर्ने गरेका छन् । भारतमा लुटिएकाको गुनासो आए पनि आफूहरूले केही गर्न नसक्ने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # महिनौंको कमाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology